रियालिटी शोमा अर्का नेपाली

दार्जीलिङका प्रशान्त तामाङ तथा देहरादूनका कपिल थापाले 'इन्डियन आइडल' मा नेपालीहरूको ठूलो सहयोग पाएका थिए। तामाङ र थापा भारतीय नागरिक भए पनि दुवै नेपाली भाषी थिए। नेपाली भाषी भएकै कारण भारतकै सबैभन्दा प्रतिष्ठित रियालिटी शोमा उनीहरू सफल भए। यतिबेला भारतीय टेलिभिजन च्यानल स्टार प्लसको एउटा अर्को रियालिटी शोमा एक जना नेपाली युवा देशको इज्जत बढाउने यात्रामा अघि बढेका छन्। कपन, काठमाडौंका १९ वर्षिय सुशान्त खत्री स्टार प्लसको नृत्यमा आधारित लोकपि्रय रियालिटी शो 'इन्डियाज डान्सिङ सुपरस्टार' को टप टेनमा प्रवेश पाउने क्रममा छन्। स्टार प्लसबाट प्रत्येक शनिबार तथा आइतबार राति ९ः१५ बजे प्रसारण हुने यो रियालिटी शोमा भारतको बरोदाबाट अडिसन दिएका खत्री भोलि शनिबारको श्रृंखलामा टप टेनमा प्रवेश गर्ने प्रवल सम्भावना छ। गत साता उनी उत्कृष्ट १२ मा पर्न सफल भएका थिए।

चाबहिलस्थित ओम अस्पतालमा कार्यरत सुशान्तका बुबा हनुमान खत्रीले साप्ताहिक प्रतिनिधिसँग गत मंगलबार छोराको प्रगतिका बारेमा जानकारी गराइरहँदा सुशान्त भने मुम्बईको एउटा स्टुडियोमा टप टेनका लागि प्रतिस्पर्धा गरिरहेका थिए। अत्यन्त गोप्य राखिएको टप टेन छनौटको परिणाम भोलि शनिबार सार्वजनिक हुनेछ। सुशान्तका बुबा हनुमान छोरा टप टेनमा पर्ने कुरामा ढुक्क छन्।

सुशान्त स्टार प्लसको रियालिटी शोमा सहभागिता जनाउन आफ्ना साथी कृष्ण थापासँग अघिल्लो वर्ष असोज २८ गते भारतको बरोदा पुगेका थिए। बरोदाबाटै उनले 'इन्डियाज डान्सिङ सुपरस्टार' का लागि पहिलो चरणको अडिसन दिए। बरोदामा 'म सुशान्त खत्री नेपालबाट...' भन्दै अडिसन दिएका उनले पहिलो चरणको अडिसन उत्तीर्ण हुँदै मुम्बई जाने टिकट पाएका थिए। बरोदामा सुशान्तसहित ३ सय ७५ जनाले अडिसन दिएका थिए। उक्त प्रतियोगिताका लागि बरोदासहित भारतका विभिन्न सहरबाट मुम्बईको टिकट पाउने ६० जना भाग्यमानीमा सुशान्त पनि एक थिए। स्टार प्लसकै खर्चमा मुम्बईको एउटा होटलमा ६० जना प्रतिस्पर्धीसँगै प्रतियोगितामा सहभागिता जनाउने क्रममा सुशान्त टप २४ हुँदै टप १२ सम्म पुग्न सफल भए। कार्यक्रममा सहभागी अन्य थुप्रै प्रतिस्पर्धी सामूहिक रूपमा प्रतिस्पर्धा गरिरहेका बेला सुशान्त भने एकल प्रतिस्पर्धीका रूपमा सहभागी छन्। प्रतियोगिताका हरेक श्रृंखलामा सुशान्तले आफूलाई नेपालको छोरो भनेर परिचय दिइरहेका छन्। निर्णायकहरू अभिनेता रितेश देशमुख, गीता कपुर तथा एस्ली लोबोले पनि उनलाई नेपालबाट आएको भन्दै उत्साहित गरिरहेका छन्।

सानैदेखि नृत्यमा रुचि राख्ने सुशान्तले यसअघि नेपाल टेलिभिजनको नृत्यमै आधारित रियालिटी शो 'छमछमी-२' मा सहभागिता जनाएका थिए। छमछमीमा उनी उत्कृष्ट २० मा पुगेर बाहिरिएका थिए। यसबाहेक उनले च्यानल नेपालको रियालिटी शो वेस्टर्न डान्स कम्पिटिसनमा समेत सहभागिता जनाएका थिए। नेपालमा छँदा उनले कोरियोग्राफर गम्भीर विष्ट तथा प्रमिला महर्जनसँँग नृत्यको प्रशिक्षण लिएका थिए। वेस्टर्न, क्लासिकल, फोक आदि विधाका नृत्यमा पारंगत सुशान्तले बरोदा पुगेपछि चर्चित भारतीय कोरियोग्राफर रेमोका सहयोगी सुमितसंग नृत्यको प्रशिक्षण लिए।

'टप टेनमा पुग्न सफल भएँ भने केही दिनका लागि नेपाल आएर सबैसँग यो खुबी बाँड्नेछु,' सुशान्तको भनाइ उद्धृत गर्दै उनका बुबा हनुमान खत्रीले बताए। टप टेन चरणपछि उत्कृष्ट १० प्रतिस्पर्धीले एसएमएस कोड पाउनेछन्। उक्त कोडमा नेपालबाट समेत एसएमएस गर्न सकिने स्टार प्लसले बताएको छ।
Click here to watch Videos