Nepalma Dui karod pachas lakh ko cheparo

नेपालमा दुई करोड ५० लाखको छेपारो !

काठमाडौं : एड्स र क्यान्सर रोग निको हुने भन्दै दुई करोड ५० लाख रुपैयाँमा बेच्न लागेको दुर्लभ बन्यजन्तु छेपारो प्रजातिको ‘टोक्यो जेको’ सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौं कपन बस्ने सोलुखुम्बु काकु–३ का २६ बर्षीय सानु लामा, शान्तिनगर बस्ने तनहुँ भानु–५ का ३० बर्षीय रामकृष्ण पन्त र जडीबुटी बस्ने रामेछाप जिल्ला चुचुरे–५ घर भएका ३१ बर्षीय टोप बहादुर श्रेष्ठलाई ठमेल ज्याठाबाट पक्राउ गरेको हो ।


फिलिपिन्समा पाइने दुर्लभ बन्यजन्तु टोक्यो जेको हेर्दा छेपारो जस्तै देखिन्छ । यसको लम्बाई १३ ईन्च हुन्छ । उनीहरुले भारतबाट टोक्यो जेको ल्याएको बयान प्रहरीलाई दिएका छन्।
नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्रहरी टोलीले एड्स र क्यान्सर रोगको लागि प्रयोग हुने फिलिपिन्समा पाइने छेपारो जस्तो देखिने टोक्यो जेको नामक दुर्लभ बन्यजन्तु खरीद विक्री गर्न लागि रहेको अवस्थामा उनीहरुलाई फेला पारेको थियो ।’ यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले ग्राहक बनेर दुई करोड ५० लाखमा किन्ने भएपछि मात्र उनीहरुले टोक्यो जेको देखाएका थिए । टोक्यो जेकोबाट एड्स, क्यान्सर, दमजस्ता रोग निको हुने विश्वास गरिन्छ।